Header Ads

बाला चतुर्दशीको सामाजिकता

हुन त सनातन हिन्दुधर्मप्रति श्रद्धा राख्ने मानिसहरू नेपाल र भारत लगायत संसारका भिन्नभिन्न देशमा छरिएर बसेकाछन्, जाति र संस्कृतिअनुरूप तिनका संस्कार र परम्परा पनि भिन्नभिभिन्न छन्, अनि देश, काल र परिस्थितिबमोजिम तिनले भिन्नभिन्न शैली र परम्परामा विविध चाडपर्व मनाउने गर्दछन्, तर समयअनुरुप सँस्कृतिमा विभिन्नता हुन सक्छ। कुनै चाडपर्वले धार्मिक भावना व्यक्त गरेको हुन्छ भने कुनै सांस्कृतिक चाडपर्वले सामाजिक जीवनका विविध पक्षको गरिमाको अभिव्यक्ति गर्दछ। तिनै चाडहरूमध्ये पौराणिक र धार्मिक आस्थाअनुसार मनाइने पर्व बाला चतुर्दशी पनि हो ।  यो पर्व चान्द्र पात्रोको गणनाअनुसार मंसिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्दछ । यस दिन आमा(बाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्दछन् । सतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, मास, कागुनु र सामा मिसाएर बनाइएको पदार्थको साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्तधान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो ।

यद्यपि यस पर्वको सन्दर्भ पौराणिक र ऐतिहासिक ग्रन्थहरू नेपाल महात्म्य, स्कन्द पुराणको हिमवत्खण्ड, शिव पुराण आदिमा पनि भेटिन्छ, तथापि बाला चतुर्दशी नेपाली मौलिक पर्व हो भन्दा फरक पर्दैन। शिवपार्वतीको प्रणयलीलाका क्रममा भगवान् भोलेशङ्करले मृगको रूप धारण गर्नु भएको पौराणिक आख्यानलाई यस पर्वसँग गाँसिएको पाइन्छ। भगवान् शिवले मृगरूप लिएर विचरण र विहार गर्नुभएको स्थललाई पुण्य क्षेत्र मानिन्छ र त्यस पुण्यभूमिमा शतबीज (सद्बीज) छर्दा उक्त बीजहरूमध्ये एक गेडो अन्नबाट मात्र पनि एक रत्ति सुन छरे झैं पुण्यप्राप्ति हुन्छ भनी मृगावतारका समयमा शिवजीले आकाशवाणीबाट आदेश गर्नुभएको विश्वास गरिन्छ। त्यसैले यस पर्वको कथा र त्यसको कार्यपीठिका शिवले मृगरूप लिई विचरण गरेको पशुपतिनजिकैको श्लेष्मान्तक वन र त्यस वरपरको क्षेत्र रहेको देखिन्छ। त्यसैले पनि यो पर्व नेपाल अझ पूर्वी नेपालमा बसोबास गर्ने पाहाडी मूलका नेपालीहरूमाझ बहुप्रचलित छ। जे होस् यस पर्वलाई मनाउने क्रममा अघिल्लै दिन अर्थात् मार्गकृष्ण त्रयोदशीका दिन श्रद्धालु भक्तजनहरू आआफ्नो परम्परा र संस्कृतिअनुसार पशुपतिनाथ मन्दिरको प्राङ्गण र छेउछाउमा बास बसी आआफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिका लागि रातभरि 'महादीप' बालेर भजन कीर्तन र जाग्राम गरी बस्दछन् र भोलिपल्ट बिहानै वागमतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्दछन् । यसलाई चतुर्दशी यज्ञ पनि भनिन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आफ्नै ठाउँपायकका शिवमन्दिरमा गई शतबीज छर्दछन् । यस पर्वले कृषि र पशुपालनसँग सम्बद्ध सामाजिक जीवनलाई प्रतीकात्मक ढङ्गले पुष्टि गर्दछ। जीवनचर्याका क्रममा पशुपंक्षी र कीटपतङ्गको भूमिकालाई अपरिहार्य मानेको जैविक तथ्यलाई पनि यस पर्वसँग गाँस्न सकिन्छ। परोपकारको भावनाले ‘शतबीज’ अर्थात् सयथरी विभिन्न गेडागुडी छर्नाले ती अन्नका दाना पंक्षीको चारा बन्छ र छर्ने क्रममा जमिनमुनि गाडिन पुगेका अन्नका दाना केही समयपछि उम्रिएर पशुको खाना अर्थात् घाँस बन्दछ, यस पर्वले यसरी फ्यालेको अन्नबाट बन्ने चारा र घाँसले मनुष्येतर अन्य जङ्गली प्राणीहरूको जीवनरक्षा हुनजान्छ र पृथ्वीको उर्वरतालाई सबै प्राणीहरूले समानताका साथ उपभोग गर्नुपर्ने सन्देश प्रदान गरेको देखिन्छ।

बालाचतुर्दशीका दिन श्लेष्मान्तक वन क्षेत्रमा शतबीज छर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने निश्चित र प्रामाणिक तिथिमितिको यकीन छैन। यस पर्वलाई खास गरी शिवभक्ति र पितृभक्ति गरी दुईवटा आधारमा मनाउने गरेको देखिन्छ। विभिन्न पुराण र स्वस्थानीकथामा नै भगवान् शिवको मृगरूप धारण गरेको कथाप्रसङ्ग प्राप्त हुन्छ। कथाअनुसार शिवले श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी लामो समय व्यतीत गरेपछि छट्पटिएकी पार्वतीले बागमती किनारस्थित मृगस्थलीमा भगवान् शिवले मृगको रुपमा विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीजहरु छरेको र तिनै बीजबाट केही दिनपछि घाँसबिरुवा उम्रिएको, ती घाँसबिरुवामा आकर्षित भई मृगको बथान जम्मा भएको अनि पार्वतीले शिवजलाई मृगका रूपमा भेटेको वृत्तान्तसँग गाँस्दै पार्वतीले सुरु गरेको शतबीज छर्ने काम पछि गएर परम्परा बनेको बताइन्छ। यस दिन पशुपतिनाथ, गुह्येश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने र मृगस्थलीमा टेक्ने व्यक्तिको मोक्ष हुन्छ भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ।

बाला चतुर्दशी पर्वसँग अर्को एउटा जनश्रुति पनि गाँसिएको प्रसङ्ग सुन्न पाइन्छ, प्रसङ्गअनुसार कुनै समयमा नेपालमा भुवनकेशरी नाम गरेका राजा थिए। उनको समयमा बालानन्द नाम गरेको एउटा वैश्य त्यस राज्यमा बसोबास गर्दथ्यो। एक दिन एकजना गुठियार मरेकाले सद्गति गर्न उसलाई खटाइयो। सद्गति गर्ने क्रममा मलामीहरू मसानघाटमा पुग्दा थाक्ने र भोकाउने भएकाले पुगेपछि चितामा लाश पोल्दापोल्दै खाजा खाने चलन थियो। बालानन्दले खाजा खाने क्रममा संयोगले चिताको आगोमा मुर्दाको टाउको पड्कियो र गिदी उछिट्टिएर बालानन्दले खाँदै गरेको खाजामा मिसियो, गिदी मिसिएको पत्तो नपाई उसले गिदीसमेत खानुपर्यो। गिदी मुखमा पर्नासाथ बालानन्दको स्वरूपमा अचानक परिवर्तन आयो र ऊ झल्झलाकार तेजिलो चाँदी झैं टाउको भएको बालासुर नाम गरेको राक्षस भयो अनि त्यस लाशलाई खपाखप खान थाल्यो। मलामीहरू डराएर आआफ्ना घरतर्फ फर्किए। त्यसपछि त्यहाँ सद्गति गर्न जेजति लाशहरू ल्याइन्थ्यो, ती लाशलाई बालासुरले खोस्दै खाँदै गर्न थाल्यो। त्यस राज्यमा कसैको पनि मरणपछि सद्गति हुन छाड्यो। मृतकको शरीरलाई आफ्नो रीतिस्थितिअनुसार सद्गत गर्न नपाउँदा जनताले राजा भुवनकेशरीलाई जाहेरी गरे। जनताले निवेदन गरेबमोजिम राजाले बालासुरलाई मार्न निकै प्रयास गरे, तर उनी सफल भएनन्। अन्त्यमा बालानन्द वैश्यकै मित वृषसिंहलाई राजाले बोलाए र उसलाई बालानन्दको वृत्तान्त सुनाई परोपकारका निम्ति मितलाई मार्न सहयोग मागे। त्यसो गरेमा जनहीत हुने भएकाले राजाले वृषसिंहलाई प्रशस्त धनसम्पत्ति र जग्गाजमिन उपहार दिने आश्वासन पनि दिए। उसले पनि आफ्नो मितलाई मार्न अनेक जुक्ति रच्यो तर सफलता पाएन। अन्ततः भगवान् शिवको तपस्या गरी प्रसन्न तुल्याई बालासुरलाई मार्ने शक्ति प्राप्त गर्यो। त्यसपछि गाउँमा आई एक घ्याम्पो रक्सी र सोहीअनुसारको मासुचिउरा आदि खानेकुराहरु लिई १५–२० जवान भरियालाई बोकाएर स्मशानघाट गयो। घाटमा त्यत्तिका धेरै मानिस आउँदै गरेको देखेर लाश आएको ठानी बालासुर पनि घाटमा आयो। वृषसिंहले आफ्ना मित बालासुरलाई अभिवादन गरी गाउँबाट ल्याएको सामाग्री उपहारका रूपमा प्रदान गर्यो। बालासुरले पनि रमाई रमाई जम्मै चीजबीज खायो र रक्सीको नशाले मातेर अचेत भयो । त्यही मौकामा वृष सिंहले आफुसँग आएका भरियाको सहयोगले बालासुरलाई डोरीले कसेर इनारमा खसाले र उसलाई माथिबाट ढुंगामुढा हानेर मारे। मित्रहत्या गरी आमजनतालाई खुसी तुल्याएपनि वृषसिंहलाई पश्चात्ताप हुनथाल्यो। फेरि भगवान् शिवजीको आराधना गरी उसले प्रायश्चित्त कसरी हुन्छ भनी उपाय बताउन भगवान् शिवलाई अनुरोध गर्यो। त्यसपछि महादेवले वृष सिंहलाई बालासुर मरेको दिन हरेक वर्ष श्रीपशुपतिनाथको मूर्तिमा पूजा गरेमा र श्लेष्मान्तक वनमा सद्बीज छरेर श्री पशुपतिनाथको क्षेत्रमा खुट्टाले टेकेमा यस हत्याको दोष नलाग्ने कुरा बताए, साथै यसको अनुकरण गरी अन्य श्रद्धालुहरूले प्रतिवर्ष त्यसै गरेमा उसका समस्त पितृहरूले मोक्ष प्राप्त गरी शिवलोक पुग्ने आज्ञासमेत शिवबाट प्राप्त भयो। त्यसै बेलादेखि बालासुर मरेको दिन अर्थात् बाला चतुर्दशीका दिनमा सद्बीज छरेर श्री पशुपतिनाथको दर्शन गर्न जाने चलन चलेको मानिन्छ। त्यसैले नेपाली समाजमा आफ्ना दिवङ्गत पितृका नाममा धान, जौ, तिल, गहुँ, मकै, कागुनो, चना, फलफूल, कन्दमूलादि मिसाएर खासगरी पशुपतिनाथ र हलेसी, जलेश्वर, दिङ्गला, पिण्डेश्वर, सतासीधाम लगायत अन्य शिवालय र देवालयमा गई सद्बीज छर्ने गर्दछन्। ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बू, तामाङ आदि विभिन्न वर्ग र जातिका मानिसहरू सबैले यस पर्वलाई मनाएको पाइन्छ । यस पर्वमा लिङ्ग, धर्म र सम्प्रदायको भेदभाव छैन । नेवार समुदायमा यस दिनलाई ‘बालाचह्रे’ भन्ने गरिन्छ।

पौराणिक आख्यान वा लोकगाथाको प्रभावबाट प्रारम्भ भएपनि यस पर्वले मनुष्यले प्रकृतिको कोखबाट जन्मलिने र अन्त्यमा प्रकृतिमा नै विलीन हुनुपर्ने यथार्थ पक्षलाई समातेको छ। चराचर प्राणी प्रकृतिका अनन्य अङ्ग हुन् र तिनको निकटस्थ अन्तर्सम्बन्ध छ भन्ने भावलाई पनि बाला चतुर्दशीले ग्रहण गरेको छ। सारांशमा यस पर्वले मनुष्य र अन्य जीवजन्तुसँगको आत्मीय सम्बन्धलाई उजागर गर्दै मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको सन्देशलाई जीवन्त तुल्याएर मृतकका प्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोधलाई समेत उपस्थापन गरेको देखिन्छ। यसरी यस पर्वले प्रकृति र पूर्वज दुबैलाई सम्झिने साझा दिनका रूपमा आफुलाई उभ्याएको छ। यो पर्वको नेपाली समाज र संस्कृतिमा महत्त्वपूर्ण स्थान छ।


No comments

Powered by Blogger.