Header Ads

स्वधर्मको पहिचान

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ॥
श्रीमद्भगवद्गीता ३।३५॥

जीवनको शाश्वतता र सफलताको मूल स्रोत सत्यता हो र त्यही शाश्वत सत्यको नाम धर्म हो । हरेक मानवले आफ्नो जीवनको सार्थकताका निमित्त अत्यन्त सावधान भएर कर्मसम्पादन गर्नुपर्दछ, जस्तो - के हेर्ने वा नहेर्ने ?, के सुन्ने वा नसुन्ने ?, कुन कुराको जानकारी लिने वा नलिने ? त्यस्तै के गर्ने वा के नगर्ने ? आदिइत्यादि ।

मानव एउटा चिन्तनशील प्राणि हो, त्यसैले जब मनुष्यले कुनै पदार्थलाई देख्दछ, अनि उसको मनमा त्यस पदार्थप्रति भाव, धारणा र विचार उत्पन्न हुन्छ । यही नै मानवताको लक्षण वा चिह्न हो । निरुक्तकार यास्कले मनुष्यत्वको निर्वचन गर्दै भनेका छन् - ‘मनुष्यः कस्मात् मत्वा कर्माणि सीव्यति’ ९३।८।२० अर्थात् मनुष्य तबमात्र पूर्णमनुष्य हुन्छ, जब उसले कुनै काम गर्नुअघि चिन्तनमनन गर्न प्रारम्भ गर्दछ । यही चिन्तनमननको प्रवृत्ति नै मनुष्यत्वको परिचायक हो । अन्यथा मनुष्य त्यो पशुसमान नै हो, जसले केवल हेर्नमात्र सक्दछ तर विना चिन्तनमनन काम क्रोधादि विषयको प्रवृत्तिमा अग्रसर हुन्छ । जबकि मनुष्य कुनै वस्तुलाई देख्नासाथ विषयप्रतिको आकर्षणमा अग्रसर हुनसक्दैन, यदि ऊ विषयतर्फ अकृष्ट हुन लाग्यो भने चिन्तन र मननले उसलाई चारैतिरबाट घेरा हाल्छन् । यही चिन्तनाको समयमा धर्म र अध्यात्मले के गर्नु समुचित हुन्छ भनी तपार्इंलाई मार्गनिर्देश गर्दछ । यही नै धर्मको वास्तविकता, नियमितता र शाश्वतपक्ष हो ।

जीवनमा धर्मको बोध भयो भने हामीले श्रेष्ठकर्म सम्पादन गर्न सक्दछौं, अर्थात् पदार्थको उपयोग र उपभोग यथायोग्य व्यवहार (व्यापार वा कर्म) का माध्यमले मात्र गर्न सकिन्छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी छ वटा भावहरू मानव शरीरभित्र लुकेर बसेका हुन्छन्, जसले मनुष्यको मनस्थितिलाई हरसम्भव दूषित तुल्याउने प्रयास गरिरहेका हुन्छन् र ती मनुष्यसँग सधैं बस्ने शत्रुहरू हुन् । त्यसैले यी छवटाको समूहलाई षड्रिपु भनिएको हो । मनुष्यको वास्तविक व्यक्तित्वको विकास र उन्नतिमा यी षड्रिपु सर्वाधिक बाधक मानिन्छन् । त्यसैले प्रत्येक सचेत मानवले यी छ किसिमका शत्रुहरूको हरदम दमन र नियन्त्रण गर्ने प्रयत्न गर्नु पर्दछ र तिनलाई निष्क्रिय तुल्याउन मद्दत गर्ने अचुक हतियार हो - धर्म । यी विध्वंशकारी शत्रुहरूको समूल नाश गर्ने व्यक्तिलाई जितेन्द्रिय भन्ने गरिन्छ । मनुष्यको पराक्रम, उद्यम र लक्ष भनेकै विषय र वासनामाथि विजय प्राप्त गर्नु हो र यसका निमित्त सर्वप्रथम यी षड्रिषुमाथि विजय प्राप्त गर्नु आवश्यक हुन्छ । यदि व्यक्तिले धर्मको आचरण गरेको छैन भने उसले यी षड्रिपुका अधीनमा रहेर व्यवहार गर्नु पर्ने हुन्छ । काम, क्रोधादिको अधीनमा रहेर व्यक्ति स्वयं पतित त हुन्छ नै, ऊ सामाजिक पतनको कारण पनि बन्ने गर्दछ । यी पतनोन्मुखी प्रवृत्तिहरूलाई नियन्त्रण गर्नका निमित्त प्रत्येक व्यक्तिले विवेकशील हुनुपर्छ र विवेकी बन्नका लागि सच्चरित्र भएका मित्रको सङ्गत गर्नु र सद्ग्रन्थको स्वाध्ययन गर्नु पनि उत्तिकै वाञ्छनीय छ ।  सत्सङ्गति र स्वाध्ययनले मनुष्यले धर्मको आचरण गर्न थाल्दछ ।

हिजोआज धर्माचरणको अभावमा हाम्रो युवा पुस्ता पतनको मार्गमा अग्रसर हुँदै गएको छ । व्यक्तिको अन्तर्मनले चिन्तनमनन भन्ने वस्तुलाई चिन्न छाडेको छ, धैर्य, संयमता र विवेकादि प्रवृत्ति नष्टप्रायः देखिन्छ । युग नै त्यस्तो भएकाले हाम्रा सूचना र सामाजिक सञ्जालले नित्यप्रति मानवीय ह्रासताका कृत्यहरूलाई उजागर गरिरहेका छन् । तर यी परिघटना घटित हुनुमा को जिम्मेबार छ र किन भइरहेको छ भन्ने बारेमा कसैलाई सोच्नेसम्म फुर्सद छैन । यस्तो किन हुँदैछ भन्ने प्रसङ्गमा हामी घोत्लिएका देखिंदैनौं । अर्काको असफलता, दुःख, पीडा र कष्टप्रति हाम्रो मन बिथोलिएको देखिंदैन । एकलकाटे छवि विकसित भइरहेको छ, हामीभित्र । अब के बुझ्नुपर्यो भने युगधर्मको अनुसरणका कारण हाम्रो चिन्तनमनन र सोचविचार गर्ने क्षमतामा निरन्तर रूपमा कमी आउँदैछ । यान्त्रिक विषयप्रति मोह बढ्दै गएको छ, परिणामतः हाम्रा शरीरका अवयवहरू निष्क्रिय बन्दै गइरहेका छन् । हामीभित्रको अन्तरङ्गा शक्ति र सामर्थ्य घट्दै गएको छ ।

यस्ता प्रतिफल हामीले पाउनुको अर्थ हो - हाम्रो वर्तमान पुस्ताले धर्म र यसको वास्तविक अर्थ वा लक्षणलाई बुझ्ने चेष्टा नै गरेको छैन । धर्म के हो भनेर कसैले प्रश्न गरिहाल्यो भने हाम्रो मनमस्तिष्कमा देवीदेवताका मूर्ति र घरपरिवारमा सम्पन्न हुने कर्मकाण्ड र सांस्कृतिक कृत्यको झझल्को आउँछ, अर्थात् धर्म भन्नासाथ श्राद्ध, पूजादि कर्मकाण्डलाई मात्र मान्ने गरेको पाइन्छ । तर धर्म भनेको कर्मकाण्ड वा सामाजिक/सांस्कृतिक कृत्यहरू होइनन् । धर्म भने धारणा हो, उदाहरणका लागि अगोको धर्म तातोपन हो र पानीको धर्म शीतलता, विद्यार्थीको धर्म पठनपाठन हो अनि किसानको धर्म खेतीपाती हो ।  अब बुझ्नु पर्यो मान्छेको धर्म मानवता हो । हामीले आफूभित्र धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, धी, विद्या, सत्य, अक्रोध आदि यी दसवटा प्रमुख कर्तव्यलाई धारणा गर्नु पर्दछ, तिनै दसवटा वस्तुको साररूप धर्म हो ।

हुन त धर्मको परिभाषा व्यक्तिपिच्छे फरकफरक पाइन्छ । धर्मलाई व्याख्या गर्ने विभिन्न आचार्यहरूका आअफ्ना मत छन् । संसारमा यी भिन्नभिन्न मत भएकाहरूले धर्मका नाममा विभिन्न चिह्न र परिचयहरू स्थापना गरेका देखिन्छन् । कसैले लामोलामो कपाल पाल्नुलाई धर्म मानेको पाइन्छ, त्यस्तै कसैले दाह्री पाल्नुलाई धर्म भनेका छन्, कोही दाह्री र कपाल दुबै पाल्नु धर्म हो भन्छन् त कोही दाह्रीकपाल फ्यालेर मुण्डन गर्नुलाई धर्म मान्दछन् । कोही टुप्पी पाल्नु धर्म मान्दछन्, कोही टुप्पी फ्याल्नुलाई । कसैले निधारको टीको धर्म हो भनेको देखिन्छ भने कोही ठाडो टीको वा बिन्दु होइन, तेर्सा धर्काले धर्मको द्योतन गरेको भन्ठान्छन् । यसरी धर्मको परिभाषा पहिल्याउन अनुसन्धान नै गर्ने हो भने के के भेटिन्छ के के ? तर यीमध्ये कुनै पनि धर्मसम्बद्ध वस्तु होइनन् । ‘इन्द्रियाणां निरोधेन रागद्वेषक्षयेण च । अहिंसया च भूतानाममृतत्वाय कल्पते । दूषितोऽपि चरेद्धर्मं यत्र तत्रश्रमे रतः । समः सर्वेषु भूतेषु न लिङ्गं धर्मकारणम् ।’ अर्थात् धर्मको कारण कुनै चिह्नविशेष हुँदैन, इन्द्रियहरूमाथि नियन्त्रण गरी परोपकार र सर्वहितका लागि गरिने कर्म नै धर्म हो  भनिएको छ ।

हामीले साँच्चिकै धर्मलाई बुझ्न खोज्ने हो भने धर्मशास्त्रका यी पङ्क्तिलाई पनि बुझ्नु अनिवार्य छ - ‘धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः’ जसले धर्मका बारेमा जिज्ञासा गर्दछ, उसले वेदको वास्तविक ज्ञान प्राप्त गर्नुपर्दछ । धर्म भनेको धारणा हो, त्यसैले ‘धारणाद् धर्म इत्याहुर्धर्मो धारयते प्रजाः’ भनिएको हो । जसले जुनसुकै काम गर्नु अघि सत्य र असत्यको विवेक राखी निर्णय गर्दछ, त्यही नै धर्म हो । हामीले धर्मलाई मनमस्तिष्कमा धारण गर्दछौं र त्यसलाई आफ्नो अचरण र व्यवहारमा उतार्दछौं । अर्को शब्दमा भन्ने हो भने बोध (ज्ञान वा जानकारी) नै धर्म हो । अतः अन्तर्मनमा धर्मको उदय हुनुअघि वेदको ज्ञान प्राप्त गर्नु अनिवार्य छ । वेदको मार्गनिर्देश वा ज्ञान ईश्वरीय प्रेरणा र सन्मार्ग हो । ईश्वर सर्वज्ञ भएका कारणले त्यस ज्ञानमा भ्रान्ति अथवा कमजोरीको मात्रा अलिकति पनि हुँदैन । वेदको ज्ञान सृष्टिको आदिज्ञान हो र यो सबै प्रकारका ज्ञानको मूल पनि हो । अतः हामीले मूल ज्ञानलाई उपेक्षा गरी हाँगाबिगा र शाखापत्रादिको ज्ञान प्राप्त गर्नपट्टि लाग्यौं भने हाम्रो महत्त्वपूर्ण समय फुत्कन सक्छ ।

सङ्क्षेपमा धर्मज्ञान र तदनुरूप आचरण आममनुष्यका निमित्त परमावश्यक मानिन्छ, जुन हाम्रो उन्नति र सुखको आधार तथा लक्षप्राप्तिको सोपान हो । मनुष्यको परम लक्ष्य पुरुषार्थ चतुष्ट्य (धर्म, अर्थ, काम र मोक्ष) को साधना हो । वेदले मनुष्यमात्रलाई निर्देश गरेको छ - ‘मा मृत्योरुदगा वशम्’ अर्थात् मनुष्यले हरेक पल सतर्क भई अफ्नो वरिपरिको परिवेशमा फैलिएर बसेको मृत्युको भयङ्कर पाशाहरूबाट जोगिने प्रयास गर्नु पर्दछ । उपनिषद्हरूमा ऋषिहरूले प्रार्थना गरेका छन् - ‘मृत्योर्माऽमृतं गमय’ अर्थात् 'हे प्रभो ! मलाई यो मृत्युपाशबाट जोगाएर अमर हुने प्रेरणा प्रदान गर्नुहवस् ।' यिनै तथ्यलाई प्रष्ट पार्न धर्मशास्त्रका व्याख्याताहरूले उद्घोष गरेका हुन् - 'धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः' अर्थात् जुन व्यक्तिले धर्मको पालना गर्दछन्, धर्मले पनि उसको रक्षा गर्ने गर्दछ अनि जसले धर्मविपरीत अचरण गर्दछ, धर्मले त्यसको नाश गर्दछ ।

जो निराश र हतास भएर जीवनयापन गर्दछन्, तिनको धार्मिक पक्ष स्वतः कमजोर हुन्छ । मानिसमा किंकर्तव्यविमूढ हुनु भन्नु नै धार्मिक आचरणको शून्यता र निर्बलता हो अनि अधर्मको बृद्धि हुनु भनेको व्यक्तिविशेषलाई निराश र दुर्बल बनाउने कारकत्व बढेको सङ्केत हो । धर्माचरणमा सक्रिय भएमा आफूभित्रका षड्रिपुको नियन्त्रण हुन्छ, असल भावनाको विकास हुन्छ र सदाचार एवं अनुशासनको अनुसरण गर्न सकिन्छ । त्यसपछि मात्र मनुष्यले आफ्नो व्यक्तित्वमा निखार ल्याई आफूलाई सबल र सशक्त तुल्याउन मद्दत पुग्छ, साथै अधर्मका कारण हुने खिन्नता, उद्वेलन र क्षीणताले शरीरमा प्रवेश गर्न पाउँदैनन् । परिणामतः शरीर स्वस्थ, फुर्तिलो र चलाख हुन्छ । त्यसबाहेक धर्माचरणका कारण एकआपसमा प्रीति र सहानुभूतिको बृद्धि हुन्छ, अनि सुखप्राप्ति हुन्छ । आचार्य चाणक्य भन्दछन् - ‘सुखस्य मूलं धर्मः धर्मस्य मूलमिन्द्रियजयः।’ अर्थात् सुखको मूल धर्म हो र धर्मको मूल इन्द्रियहरूमाथि विजय प्राप्त गर्नु हो । संसारमा प्रत्येक मनुष्यको अकाङ्क्षा हुने गर्दछ - म सुखी रहुँ । तर धर्मको अभावमा किमार्थ सुखप्राप्ति हुँदैन । त्यसैले धर्मको पालना गर्नु अनिवार्य हुन्छ । संसारका कुनै पनि वस्तु सुखको कारक बन्नसक्छ, तर मरणोपरान्त कुनै वस्तुले पनि मान्छेलाई साथ दिएको दृष्टान्त पाइँदैन । सबैले जानेकै विषय हो, मृत्युपछि कसैसँग केही पनि जाँदैन । शास्त्रकार चर्चा गर्दछन् -
धनानि भूमौ पशवश्च गोष्ठे भार्या गृहद्वारि जन: श्मशाने ।
देहश्चितायां परलोकमार्गे धर्मानुगो गच्छति जीव एक: ।।
(समस्त भौतिक धनसम्पत्ति जमिनमा नै रहने गर्दछ, अथवा हिजोआज सम्पत्ति बाकस, बैंक वा लकरमा सीमित हुन्छ, त्यस्तै गाईवस्तु गोठमा बाँधिन्छन्, पत्नीको माया घरको ठेलोसम्म मात्र हुन्छ, बन्धुबान्धवको अधिकार श्मसानघाटसम्म हुन्छ, शरीरको साथ चितासम्म मात्र हुन्छ, तर धर्मले मरणोपरान्त र परलोकमा पनि जीवलाई साथ दिने गर्दछ ।)



सारांशमा इहलोक र परलोक दुबै अवस्थामा अन्त्यसम्म साथ दिने वस्तु केवल धर्म हो । धर्म भनेको सत्य र असत्यको पहिचान हो । धर्मानुसार नै मानिसका इहलौकिक सुख र दुःखका साथै पारलाैकिक राम्रा र नराम्रा गतिको प्राप्ति हुन्छ । अतः हामीले धर्मलाई यथार्थ रूपमा बुझेर व्यवहारिक रूपमा नै आफ्ना लागि धर्माचरण र धर्मलाई धारण गर्नु परमावश्यक छ । धर्म नै हाम्रो त्यस्तो एउटामात्र अस्त्र हो, जसका माध्यमबाट हामीले इहलौकिक सुखका साथमा पारलौकिक यात्रालाई पूर्ण गर्ने सामर्थ्य प्राप्त गर्दछैं । त्यसैले आजैबाट प्रण गरौं - हामी सबैले धर्मको आचरण गरौं । धर्मो रक्षति रक्षितः 

No comments

Powered by Blogger.