Header Ads

धान्य पूर्णिमा

हाम्रो नेपाली समाज कृषिमा आधारित जनजीवन भएको समाज हो । जीवनचर्याका क्रममा कृषिक्षेत्रका विषयहरू नै हाम्रो धर्म, संस्कृति र चाडपर्वसँग जोडिएका हुन्छन् । हाम्रो संस्कृतिमा अन्नलाई ब्रह्म मानिएको छ — अन्न ब्रह्मेति व्याजानात् (तैत्तिरीय उपनिषद्) र स योऽन्नं ब्रह्मेत्युपास्ते (छान्दोग्योपनिषद्) । प्राचीनकालमा कृषिद्वारा जीवन निर्वाह पद्धतिको विकास भएको थियो । तत्कालीन समाजमा गार्हस्थ्य उत्पादनको मुख्य स्रोत र सामाजिक अर्थव्यवस्थाको मुख्य स्रोत अन्नबाली नै थियो । हाम्रा चाडपर्वले जीवनदर्शन मात्र होइन, प्रकृति र पर्यावरणको पूजाआराधनामा पनि जोड दिइएको पाइन्छ । आकाश, पाताल, पृथ्वी, नदी, बृक्ष, वन, पर्वत, गोठ, भूमि, पशुपन्छी आदि वातावरणसँग प्रत्यक्ष सम्बन्ध हुने प्रत्येक वस्तुको पूजा गर्न सिकाउने र अह्राउने काम गरेको छ, सनातन संस्कृतिले । नेपालमा प्रमुख कृषि उपजहरूमध्ये धानको विशिष्ट महत्त्व छ । मंसिर महिना नयाँ धान भित्र्याउने महिना हो । त्यसैले हिन्दू संस्कृतिमा यस महिनाको पूर्णिमाका दिन धान्य पूर्णिमा पर्व मनाउने परम्परा रही आएको छ । ‘भकारीमा भरेको धान कम नहोस् र धनधान्यले घरपरिवार भरिभराउ र झकिझकाउ होस्’ भन्ने कामनासहित मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने गरिएको हो । यस दिन पृथ्वी माताले प्रदान गरेको नयाँ अन्न धानप्रति आभार व्यक्त गर्दै पृथ्वीको पूजा पनि गरिन्छ ।

विभिन्न धर्मावलम्बी, जाति र जनजातिमा कुनै न कुनै रूपमा धान्य पूर्णिमा मनाउने चलन रही आएको छ । प्राचिनकालदेखि नै खेतीपातीमा आधारित जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्र्याउनुअघि आआफ्ना ईष्टदेवता र पितृहरूको पूजाआजा गरी नयाँ अन्नअर्पण गरेरमात्र त्यो नयाँ अन्न खाने परम्परा विद्यमानसम्म प्रचलनमा छ । आर्य समुदायका बाहुन, क्षेत्री आदिले यस दिन उधौली गोठको धूप (गैंडु पूजा) पर्व मनाउँदछन् । बाहुन/क्षेत्रीकै कतिपय थर र समुदायमा यस दिन कुलदेवताको पूजा (देवाली/देवबलि) पनि गर्ने प्रचलन छ । त्यस्तै यस दिन पूर्वका याक्खा जनजातिले चोसोवा, लिम्बूले चासोक तङनाम, राईहरूले साकेला (धाननाच) र सुनुवारहरूले फोल ष्याँदर पर्व मनाउने चलन छ । त्यस्तै धान्य पूर्णिमाकै अवसरमा नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने परम्परा छ ।

१. कुलपूजा (देवाली)

नेपालमा बसोबास गर्ने खसआर्य समुदायमा कुलपूजाको ठूलो महत्त्व छ । कुलको आराधना र आशीर्वादबाट परिवारमा सुखसम्मृद्धि बढ्नुका साथै सन्ततिको उन्नतिप्रगति हुने विश्वासले सामान्यतया वैशाखको चण्डी पूर्णिमा र मंसिरको धान्य पूर्णिमामा कुलदेवताको पूजा गरी परम्पराबमोजिम बलि दिने परम्परा रही आएको छ । कतै वर्षैपिच्छे र कतै २/२, ३/३ र ५/५ वर्षमा अनि कतै उधौली र उभौलीको क्रममा निश्चित अवधिमा कुलपूजा गर्ने गरिन्छ । कुलपूजा (देवाली) गर्दा यस्तै गर्नुपर्छ भन्ने निश्चित नियम छैन, आआफ्नो परम्परालाई विभिन्न थरि र समुदायले निरन्तरता दिएको पाइन्छ ।

२. गोठको धूप (गैंडु पूजा)

कृषिमा आधारित समाजमा पशुधनको ठूलो महत्त्व हुन्छ । पशुधन कृषिसमाजको मेरुदण्ड नै हो । नेपालका बाहुन/क्षेत्रीहरू प्रायः कृषि र पशुपालनलाई नै मुख्य जीवनवृत्ति बनाउने समुदाय हुन् । यसै समुदायमा गाईवस्तु रक्षाका लागि गोठमा गाईवस्तुकै दूधबाट खिर, बाबर आदि बनाएर गैंडु देवता र गोष्ठ देवताको पूजा गर्ने चलन छ । गैंडु देवताको पूजा गर्नाले गाईवस्तुको रक्षा हुने र उनीहरूबाट राम्रो प्रतिफल प्राप्त हुने विश्वास छ ।

३. योमरी पुन्ही

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

४. उधौली साकेला पर्व

धान्य पूर्णिमाका दिन किरात राईहरूको महान पर्व उधौली साकेला मनाउने गरिन्छ । किरात राईहरूको बाहुल्य रहेको जिल्ला भोजपुर, धनकुटा, खोटाङ्ग, उदयपुर, इलाम, पाँचथर लगायत काठमाडौ उपत्यका र प्रमुख शहरहरू तथा राईहरूको बसोबास रहेको विदेशमा समेत उधौली पर्व मनाइन्छ । उनीहरूले ढोल, झ्याम्टाको तालमा गीत गाउँदै, किराती जीवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै, नाच्दै तथा एकअर्कामा शुभकामना आदानप्रदान गर्दै धुमधामका साथ साकेला मनाउने गर्दछन् । उनीहरू अन्नबाली लगाउने र भित्र्याउने बेला गरी बर्षमा उभौली र उधौली गरी दुई पटक साकेला मनाउने गर्दछन् । उधौली साकेलालाई अन्नबाली भित्र्याएको अवसर पारेर पितृको सम्झनामा घरको चुल्हो र अन्नभकारीमा कुखुरा काटेर बली समेत दिने चलन छ । त्यसैगरी गर्मी समय सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो समय सुरुभएसंगै सित छल्न बेसी झर्ने आफ्ना पितृहरूको सम्झनामा साकेला मनाउने गर्दछन् । बेसीवाट लेक चढ्ने तथा लेकबाट बेसी झर्दा आफ्ना पित्रीहरू नाच्दै, उफ्रँदै चढ्ने र झर्ने विश्वासमा साकेलामा सिली नाच्ने गर्दछन् ।

५. चासोक तङनाम

कृषिवैज्ञानिक र आर्थिक, सांस्कृतिक, सामाजिक आदि विशिष्ट उद्देश्य समेट्ने चासोक तङनाम किरात लिम्बूहरूले धान्य पूर्णिमामा मङ्सिर महिनाको शुक्लपक्षको त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिनसम्म अत्यन्त हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । लिम्बू भाषाको चासोक शब्दको अर्थ न्वागी (नयाँ अन्न) र तङनाम शब्दको अर्थ चाडपर्व भन्ने हुन्छ । मकै, कोदो, धान आदि पाकेको नयाँ अन्नबाली आफूले खानुभन्दा पहिले प्रकृतिदेवी, विभिन्न देवीदेवता तथा कुलपितृलाई अर्पण गर्ने सन्दर्भमा लिम्बूहरूले न्वागीपूजा गरेको पाइन्छ । मुन्धुममा प्राप्त भावअनुसार अन्नबाली उब्जाउनुभन्दा पहिले लिम्बू वंशका आदिपुरुषले जङ्गली कन्दमूल खाई जीवननिर्वाह गर्थे, जसले गर्दा शरीरलाई आवश्यक पौष्टिक आहार नपुगेर समग्र जीवन नै रोगमय र कष्टकर हुनपुग्यो । त्यस बेलामा शरीरमा सुस्वास्थ्य र बलवीर्य प्राप्तिका लागि तागेरा निङवाफुमाङको प्रार्थना गरेपछि कोदो, जुनेलो, घैया आदि अनाजको बिउ उपलब्ध भयो । बिउ छरेपछि अन्नबाली उब्जिएर खान पाउँदा शरीर स्वस्थ भई जीवन आनन्दमय बन्यो । यसर्थ अन्नबालीका दाता परमात्मा र अन्नबाली प्राप्तकर्ता पूर्वजहरूप्रति नयाँ अन्न चढाएर कृतज्ञता ज्ञापन गर्ने सिलसिलामा चासोक तङनाम पर्वको सुरुवात भएको विश्वास गरिन्छ । लिम्बूहरू लगाएका अन्नबाली मकै, कोदो र धान पाकेपछि ती अन्न खानुअघि आफ्ना ईष्टदेवताहरूलाई चढाउन चासोक पूजा गर्दछन् । खेतीबारी टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने घर नजिकै भए खेतीबारीमै गएर भुइँ सम्याएर सफा सुग्घर बनाएर पूजा थानको निर्माण गरेर पूजा गरिन्छ । धानको बाला हातैले माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चडाउने चिउरा (साम्बेक) बनाईन्छ भने कोदोको बालालाईपनि हातले माडेर नै कोदोको दानामा मार्चा र पानी मिसाएर पूजाकोलागि जाँड (साप्तोक) र साप्तोक चढाउनलाई साना साना बाँसका पेहेङ (तोङबा) हरू पनि बनाईन्छ । यसरी साम्बेक र साप्तोक तयार भएपछि बटुकामा चोखो पानी र पुज्नलाई पानी छर्कन केराको पात बेरेर प्रयोग गरिन्छ भने घरबाहिर र घरभित्र पुजिने देवताहरूको नाममा केराको पात राखी थान (लास्सो) बनाई लास्सोमाथि जोर पेहेङ ठड्याई मुन्धुम वाचन गर्दै चोखो पानी छर्कंदै तोङबा (पेहेङ) को जाँड (साप्तोक) पिपा (पित्छिङ) ले लास्सोमा चढाएर पेहेङहरू लडाई लास्सोलाइ सेलाइएपछि चासोक तङनाम न्वागी पूजा सम्पन्न हुन्छ ।

६. फोल ष्याँदर

मंसिरे पूर्णिमाको दिन परिवार तथा नातागोता जम्मा भएर मनाईने फोल (रापावा) ष्याँदर चाडमा सुनुवार जातिले प्रकृति तथा पितृ पूजा गरेर सुख, शान्ति, समृद्धिको कामना गर्दै मनाउने महान चाड हो । सर्वप्रथम अग्नि र इन्द्रेणीलाई पूजेर अन्य देवदेवी, सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमि अनि पितृहरूलाई क्रमशः पूज्दै आव्हान गर्दै प्रकृति तथा दैवी प्रकोप, अतिबृष्टि, अनिकाल, रोगब्याधि नलागोस र सहकाल लागोस भनेर कुलपुरोहित (न्हास्सो) हरूद्वारा सार्वजानिक पूजास्थलमा ष्याँदर पूजा गरिन्छ । यदि कुलपुरोहित (न्हास्सो) हरू नपाइएको खण्डमा सुनुवार जातिले आफ्नै घरको पूजाकोठा (लागपर्गि) मा फूलपाति, अक्षता, पानी र फलफुल चडाएर एकजोर जाँड (ष्याम) राखेर धुप बाल्दै सामान्य किसिमले पनि ष्याँदर पूजा सुसम्पन्न गर्ने गर्दछन ।

७. चोसोवा

याक्खा जातिका मनिसहरूमा चोसोवा (उधौली) पूजामा नयाँ अन्नबाट बनेका परिकार पितापुर्खालाई चढाएर मात्र नयाँ अन्न घरमा थन्क्याउने र नयाँ अन्नबाट बनेका परिकार खाने पिउने प्रचलन छ । चोसोवा पूजा गर्नका लागि पाङ्दुरको जाँड पकाइन्छ, पाकेको धान खेतबाट ल्याई सोही दिन भुटेर चामल बनाई साथमा जोर (भालेरपोथी) कुखुरा, अण्डा, बोटसहितको अदुवा, तीनदर्जन केराकोपातको टुप्पा (लाहाचोङ) चोखो तोङ्बा र मेच्चेफुङ (कुसुमे फुल) र केराको पातले बेरेको कलश तयार पारिन्छ । यसरी पूजाको आवश्यक सामाग्री तयार भएपछि घर लिपपोत सफासुग्घर गरेर एउटा कुनामा मान्द्रोलाई घोप्टो पारेर बिछ्याई तीनजोर लाहाचोङलाईपनि लहरै बिछ्याइन्छ र तयार भएका सामाग्रीपनि सोही ठाउँमा राखेर घरमूली वा मुन्धुम जान्ने व्यक्तिले मुन्धुममार्फत सम्बोधन गर्दै पूजा सम्पन्न गर्ने गरिन्छ । आफ्ना पितृहरूको नाममा नयाँ अन्नबालीबाट बनेको खानेकुरा चढाउँदै आगामी दिनहरूमा पनि यसरी नै पहिले आफ्ना पितृहरूलाई चढाएरमात्र आफूले खाने प्रतिबद्वता जनाउँदै चोसोवा (उधौली) पूजाको समापन हुन्छ ।

वस्तुतः अन्नबालीसँग सम्बन्धित न्वागी पूजा नेपालीहरूका लागि मात्र होइन, अपितु विश्वकै मानव मात्रकै लागि पनि महत्त्वपूर्ण चाड हो । विश्वकै मानव समुदाय अन्नमा निर्भर छ । त्यसैले प्रत्येक समुदायमा कुनै न कुनै ढंगले नयाँ अन्नको स्वागत गर्ने परम्परा छ । सनातन संस्कृतिले नयाँ अन्न भित्र्याउँने छुट्टै परम्परा र नीति तय गरेको पाइन्छ । श्राद्धतत्त्वमा लेखिएको छ —नवोदके नवान्ने च गृहप्रच्छादने तथा । पितरः स्पृहयन्त्यन्नमष्टकासु मघासु च ।। (नवोदक या वर्षोपक्रममा नवान्न अर्थात नयाँ धान पाकेपछि र गृहप्रच्छादन आदिमा पितृगण अन्नका लागि प्रार्थना गर्दछन् । यसरी हाम्रो जीवनरक्षाका लागि आवश्यक पर्ने नयाँ अन्नप्राप्तिमा आफ्ना इष्ट देवीदेवता, कुल र पितृहरूलाई स्मरण गर्दै पहिले उनीहरूलाई आस्वादन गर्न लगाएर पछिमात्र आफूले उपभोग गर्ने पर्व विशेष नै धान्य पूर्णिमा हो र समुदाय विशेषमा यसलाई आआफ्ना ढंगको परम्पराले सिंगारेर यस पर्वलाई मनाउने गरिन्छ ।

No comments

Powered by Blogger.