Header Ads

योमरी पुन्ही

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

योमरि बनाउदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरुपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।

नेवार संस्कृतिमा योमरीको बिषेश महत्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुईवर्षमा दुईवटा, चारवर्षमा चारवटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ । त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समयअघि माइतीबाट दहीच्यूरा खुवाउन जाने चलन छ । यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।

नेवार समुदायमा योमरी पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र उनले त्यसर भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिइछन् र उचित आदरसत्कार र श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रुपको  दर्शन दिए र ज्ञान प्रदान गरी अन्तर्ध्यान भए । कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले  तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । अनि अन्न, धन र योमरी दान गरिन्  । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।


योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरहरुमा मेला लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

No comments

Powered by Blogger.