Header Ads

नेपाल र भारतको संस्कृतिक सेतु विवाह पञ्चमी

प्रत्येक वर्ष मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी महोत्सव मनाइन्छ। यो पर्व खासगरी प्राचीन मिथिलाको राजधानी जनकपुरमा बडो उत्साह एवं उमङ्गका साथमा मनाउने चलन छ। पहिले त्रेता युगमा मंसिर महिनाको यसै शुक्ल पक्षको पञ्चमी तिथिका दिना मर्यादा पुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह सम्पन्न भएको विश्वास गरिन्छ। त्यसैले प्रत्येक वर्ष यस तिथिमा भगवान् रामचन्द्र र माता सीताको पूजाउपासनाअर्चना र वन्दना गरेर भक्तजन भावविभोर हुने गर्दछन्। हेमन्त ऋतुमा जनकपुरको प्राकृतिक परिवेश त झन् पहेंलपुर भएको देखिन्छसर्स्यूंका पहेंला बिरुवा खेतमा सुशोभित हुन्छन्। जगदम्बा जानकीको भक्ति आराधनामा मिथिलाञ्चलवासीको मुखबाट हठात् जानकी वन्दनाको गायन हुन्छ -

जय मैथिली जय जानकीजगदम्बा जगत दुलारी
जय आदि शक्ति जय आदि सृष्टि।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि मिथिला र जगज्जननी जानकीको स्तुतिगान आफ्ना काव्यपङ्क्तिमा सहृदयताका साथ गर्नुभएको छ -

जन्मिन यहीं जानकी मञ्जरी जस्तै धानकी

माण्डवीकीर्तिउर्मिला बहिनी बालचञ्चल
                                                           लावण्यमयी जानकी गहुँ र गोरी ज्यानकी

सीता सनातन धर्म अन्तर्गतका सम्पर्ण कुलीन र सौभाग्यवती महिलाका लागि समादृत र सम्माननीय नाम हो। 'मिथिला महात्म्य'अनुसार मिथिला शब्दमा प्रयुक्त मकारले विश्वकर्ता विधाताथकारले स्थितिवाचक विष्णु र लकारले लयकर्ता महेश्वरको द्योतन गर्दछ। त्रिदेवात्मक मिथिला शब्दले मात्र सबै किसिमका पापलाई नष्ट गर्ने गर्दछत्यसैले पनि यो नगरको छुट्टै प्रसिद्धि छ। भविष्य पुराणमा उल्लेख गरिए अनुसार यो प्राचीन र प्रसिद्ध नगरीलाई बसाएकाले जनक राजाकै नामबाट यस नगरीको नाम 'जनकपुर' रहन गएको हो। तदुपरान्त त्यहाँ राज्य गर्ने विदेह वंशका सबै राजालाई जनक भनेर बोलाउन थालियो अर्थात् जनक त्यस कुलको उपाधि नै हुन गयो। जगज्जननी सीताका पिता तिनै जनकमध्ये शिरध्वज जनक थिए। स्थितप्रज्ञ जनककुलका राजाहरू गृहस्थका साथसाथै गृहत्यागी पनि हुन्थे। त्यसैले जनक शब्दकै पर्यायका रूपमा 'विदेहशब्दको प्रयोग हुन्थ्योजसको अर्थ हुन्छ शरीरविहीन। श्रीमद्भगवद्गीता लगायत विभिन्न पौराणिक ग्रन्थमा यस वंशको उल्लेख पाइन्छमहर्षि वेदव्यासका शब्दमा सबै मैथिल राजा आत्मविद्यामा परम विशारद हुन्थे र योगेश्वरको अनुकम्पाबाट गृहस्थ धर्मको आचरण गर्दागर्दै पनि द्वन्द्वमुक्त हुन्थे।

शिरध्वज जनकले एकपटक मिथिलामा भयङ्कर दुर्भिक्ष (अनिकाल) परेकाले राजपुरोहितको परामर्शअनुसार हलोष्ट यज्ञ गरे र त्यही यज्ञमा धरतीको गर्भबाट सीताको आविर्भाव भयो। राजा स्वयंले हलो जोत्दा जन्म हुन गएको र हलोमा राखिने फालीलाई सीता भनिने भएकाले ती कन्याको नाम पनि सीता रहन पुग्यो।  हुन त सीताका विभिन्न नाम छन् जसमध्ये जानकी, सीतासियाअयोनिजामैथिलीवैदेहीभूमिजा र उर्विजा आदि प्रसिद्ध छन्। पृथ्वीको कोखबाट जन्मेकी राजा जनककी छोरी जानकी हलक्क हुर्किइन्। किशोरी अवस्थाकी भएपछि ती अयोनिजा सीतालाई वीर्यशुल्काका रूपमा विवाह गर्ने तैयारी भयो अर्थात् पराक्रम प्रदर्शित गरेर प्राप्त गर्न योग्य ठहर्याइयो र राजा जनकले धनुष यज्ञको अनुष्ठान सम्पन्न गरे। धनुष यज्ञ सम्पन्न भएको पवित्र स्थान बरविघा रङ्गभूमि अद्यापि जनकपुरको हृदयस्थलमा अवस्थित छ र यो जानकी मन्दिरको उत्तर-पश्चिममा पर्छ। यस धनुष यज्ञमा त्यस बखतका नामूद राजा र राजकुमारहरूको सवारी भयोसबैले यस धनुषभङ्ग प्रतियोगितामा आआफ्नो पराक्रम प्रदर्शित गरेतर कोही पनि सफल हुन सकेनन्। लङ्काधिपति रावणले पनि आफ्नो भाग्य परीक्षण गरे तर उनी पनि असफल भए। अन्त्यमा अयोध्याका नरेश राजा दशरथका सुपुत्र रामचन्द्रले त्यो पौराणिक शिव धनुषमा ताँदो चढाएर सफलता हासिल गरे। त्यसपछि उनीसँग सीताको शुभविवाह सम्पन्न भयो। उक्त वैवाहिक कार्यक्रम सम्पन्न गराउन राजा दशरथले अयोध्याबाट जन्ती लिएर आए। जन्तीमा साकेत नगरी अयोध्याका नागरिकहरू, साधुसन्तप्रतिष्ठित व्यक्तित्व, नागरिक र पण्डितपुरोहित सबै सहभागी थिए। राम र सीताको शुभ विवाह हेर्न स्वर्गबाट मिथिलाको आकाशमा देवीदेवता समुपस्थित भई पुष्पबृष्टि समेत गरे। त्यही ऐतिहासिक र पौराणिक महोत्सवको सम्झनामा अहिले पनि जनकपुरमा प्रत्येक वर्ष विवाह पञ्चमी मेला लाग्ने गर्छ। उक्त अवसरमा जनकपुरलाई एउटी दुलहीको रूपमा सिंगारिन्छ। राम मन्दिरबाट जन्ती लावालस्करका साथ जानकी मन्दिरमा आउँछन्। विवाहका सम्पूर्ण संस्कारहरू जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न हुन्छ। दुलहाका रूपमा रामचन्द्र र दुलहीका रूपमा सीताको परिकल्पना गरी नटनटीलाई उभ्याइन्छ। रङ्गभूमिमा धनुषभङ्गको दृश्यलाई पुनर्जीवित तुल्याइन्छ। जन्तीको स्वागत सत्कार मैथिल परम्पराअनुसार गरिन्छ। यो अलौकिक दृश्य हेर्न लाखौं जनताको उपस्थिति हुन्छ र तिनको उत्साहले रङ्ग अबिरपुष्पवृष्टिको दृश्यलाई जीवन्त तुल्याइन्छ। मैथिल परम्पराअनुसार परीक्षणनिरीक्षणकन्यादान र समदाउनका सबै दृश्यहरूको अनुकरण हुन्छ। महिलाहरू वैवाहिक प्रसङ्गसँग सम्बद्ध विभिन्न गीत गाउँछन्। विवाह पञ्चमीलाई सार्थक तुल्याउन अहिले पनि भारतको अयोध्याबाट जन्ती आउँछन्। जन्तीको स्वागतसम्धी मिलनतिलक महोत्सवमटकोरलगायतका परम्परागत परिपाटी सम्पन्न हुन्छ।

विवाह पञ्चमीको मूल उद्देश्य प्राचीन गाथा स्मरण गराउनु र रामजानकीप्रतिको श्रद्धालाई पुन ताजा बनाउनु आदि विषयमा केन्द्रित छ भन्ने कुरामा विमति छैनतापनि यस पर्वको औचित्य यत्तिमा मात्र सीमित छैन। नेपाल-भारतबीच शताब्दीऔँ अघिदेखि रहँदै आएको सुसम्बन्धको सेतुको प्रतीकका रूपमा पनि यस पर्वको वैशिष्ट्य छ। विवाह पञ्चमीमा जनकपुरमा उर्लिने जनलहरले दुवै देशका नागरिकलाई सांस्कृतिक र पौराणिक दृष्टिले एकसूत्रमा बाँधेको छ। सांस्कृतिकधार्मिकसामाजिक तथा ऐतिहासिक दृष्टिकोणले अति निकट रहेका नेपाली तथा भारतीय नागरिकबीचको सम्बन्धलाई युगानुरूप अझ उचाइमा पुर्याउन विवाह पञ्चमीले विशेष भूमिका खेल्दै आएको छ। त्यसैले विवाह पञ्चमीको जनघुइँचोलाई सांस्कृतिक परम्पराको कडीमात्र मानिनु चाहिँ किमार्थ उचित हुँदैन। धार्मिक पर्यटनका दृष्टिले यसको विशिष्ट स्थान छ। 

No comments

Powered by Blogger.